दसैँ बिदामा अभिभावकले बालबालिकालाई के गर्ने ?

वर्षभरि घर–स्कुल, स्कुल–घर गर्ने बालबालिकाका लागि दसैँ तिहारको छुट्टीको निक्कै महत्वपूर्ण हुन्छ । किनभने, एक महिनाको छुट्टि त्योमाथि पनि बिदामा दसैँ र तिहार । हुन त दसैँ तिहार जस्ता चाडपर्व बालबालिकाका लागि निकै विशेष नै हुन्छ । दसैँमा गरिने सपिङ, उडाइने चंगा, लंगुरबुर्जा, दक्षिणा जस्ता कुराले पनि बालबालिकाले वर्षभर दसैँ भुल्न सक्दैनन् ।

अभिभावकहरुले दसैँमा आफ्ना बालबालिकालाई लिएर नजिकैका रमाइला ठाउँ घुम्न जान पनि सकिन्छ । यसरी घरबाहिर निस्कँदा उनीहरुमा नयाँ उर्जा भरिनेछ । मनमा उत्साह र उमंग जाग्नेछ । जसबाट उनीहरुले नयाँ–नयाँ कुराहरु सिक्न सक्छन् । नयाँ ठाउँमा घुम्दा मुड रिफ्रेस हुन्छ जसले शिक्षामा अझ मेहेनत गर्ने प्रेरणा मिल्छ ।

बालबालिकालाई टेलिभिजन, मोबाइलमा मात्रै सिमित गर्नु हुँदैन । बिदाको राम्ररी सदुपयोग गर्न अभिभावकले पनि उनीहरुलाई समय दिन जरुरी हुन्छ । आफू मोबाइलमा ब्यस्त हुने अनि बालबालिकालाई मोबाइल नचलाउ भन्नु ठीक हुँदैन । यो कुरामा अभिभावकले ध्यान दिन जरुरी छ ।

अभिभावकहरुले बिदाका बेला बालबालिकाहरुलाई घुमाउन लैजानुहोस् ।   खेल्न दिनुहोस् । उनीहरू जे चाहन्छन्, त्यही गर्न दिनुहोस् । प्रशस्त मनोरञ्जन हुने वातावरण बनाइदिनुहोस् ।

तनावमा हुन्छन् बालबालिका

अहिलेका बालबालिका सधैं तनावमा हुन्छन् । होमवर्कको तनाव । क्लास वर्कको तनाव । कोर्सबुकको तनाव । घरको तनाव । त्यसैले यो बिदामा उनीहरूलाई तनावमुक्त भएर रमाउन दिनुपर्छ ।

बालबालिकालाई कस्तो बनाउने, भूमिका अभिभावककै हो । खालि पढ, पढ मात्र भन्नुहुन्न, उनीहरूलाई तनावमुक्त बनाउनुपर्छ । बच्चालाई समय दिएर उनीहरूको मुहारमा खुसी भरिदिनुपर्छ । अरू बेला नसके पनि कमसेकम यो बिदामा बच्चाहरूलाई प्रशस्त खुसी तुल्याउनुहोस् । बालबालिका कति व्यावहारिक छन्, त्यसमा अभिभावककै भूमिका हुन्छ ।

यो बिदामा घरव्यवहारका, भान्साका, सरसफाइका व्यावहारिक ज्ञान दिएर उनीहरूमा सामाजिक व्यक्तित्व विकासमा सघाउन सकिन्छ किनभने संस्कार र सभ्यता सिक्ने उमेर नै यही हो । बिदाका कारण बच्चालाई समय दिनुपर्दा कतिपय अभिभावक दिक्क मान्छन् । यो राम्रो होइन । उनीहरूलाई सकेसम्म धेरै समय दिनुहोस्, धेरै माया दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?