ब्यारेकको दसैँ : जमरा राख्नेदेखि, कोत पूजासम्म

सेनाले यसरी गर्छन् कोत पूजा

काठमाडौं । बडादसैँ अर्थात् सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । यतिबेला घर घरमा दसैँ आएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ । शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक दशैंले ल्याएको छ ।

नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चाइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दसैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ ।

हरेक समुदायले दसैँलाई आ–आफ्ना मूल्य मान्यताका आधारमा मनाउने गरेका छन् । कसैले रातो टिका लगाउँछन् त कसैले सेतो । दसैं मनाउने सबैको आ–आफ्ना शैली र परम्परा छन् । त्यस्तै, देशको सुरक्षामा खटिने सेना र प्रहरीहरुले पनि आफ्नै शैलीमा दसैँ मनाउने गर्छन् ।

झट्ट सम्झँदा प्रहरी र सेनाहरुलाई के चाड के पर्व भनिने गरेको भएपनि दसैँमा सेनाको भने विशेष तयारी र विभिन्न महत्वपूर्ण कार्यक्रमहरु हुने गरेको छ । नेपाली सेनाले आफ्ना हरेक ब्यारेकहरुमा आफ्नै परम्परा अनुसार दशैं मनाउने गरेका छन् ।

दसैँघरमा जमरा  

घटस्थापनाका दिन हनुमानढोकास्थित दसैँ घरमा नेपाली सेनाले जमरा राख्ने प्रचलन छ । दशैं घरको सुरक्षाका लागि सेनाको एउटा टोली नै खटाइएको हुन्छ ।

जमरा घरदेखि, कोत अड्डा हनुमान ढोकामै अवस्थित छ । सेनाले हरेक दशैंमा त्यहा विशेष पूजा गर्छन् ।
घटस्थापनाका दिन जमरा राखेपछि बोकाको बली दिएर पूजा गर्नुपर्ने प्रचलन रहेको छ ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार हनुमानढोका नजिकै नेपाली सेनाको शार्दुलजङ्ग गुल्म रहेको छ । सोही गुल्मबाट खटिएका सेनाले दसैँघर र कोत अड्डाको सुरक्षामा खटिने गरेका छन् ।

फूलपातीको विशेष महत्व

फूलपातीका दिन हनुमानढोकामा सेनाको निकै महत्वपूर्ण भूमिका रहने गरेको छ । गोरखाबाट ल्याइएको फूलपाती सेनाले हनुमानढोकामा हर्क बढाइका साथ भित्राएपछि सारा देशमा फूलपाती भित्राउने चलन रहिआएको छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि गोरखाबाट फूलपाती ल्याएर हनुमान ढोकामा भित्राउने चलन सुरु भएको विश्वास छ । गोरखाबाट सेनाको टोलीले फूलपाती बोकेर धादिङको जीवनपुरसम्म ल्याउँछन् । त्यहाँ ल्याइसकेपछि हनुमानढोकाबाट अर्को टोली जीवनपुर जान्छन् । त्यसपछि उनीहरुले जीवनपुरबाट जमलसम्म फूलपाती ल्याउँछन् । र, सेनाको टोलीले जमलबाट त्यो फूलपाती हनुमानढोकामा भित्राउँछन् ।

अष्टमीमा मूलकोत पूजा र बली प्रथा

त्यस्तै, अष्टमीमा गरिने हनुमाढोकामा रहेको मूलकोत पूजा र बली प्रथाको पनि छुट्टै इतिहास छ । सेनाका हात हतियार राखिएको मूलकोत घरमा बली दिएर पूजा गर्ने गरिन्छ । नेपाली सेनाले राँगा तथा बोकाहरुको बलि दिने गरेका छन् । बलीका लागि ल्याइने राँगा तथा बोकाहरु कुनै चोटपटक नलागेको हुनुपर्ने नियम रहेको छ ।

अष्टमीको दिन सेनाका हरेक ब्यारेकका मौलामा बली दिने परम्परा छ । अष्टमीमा मात्र नभइ नवमीको दिन पनि सेनाले बलि दिने गरेका छन् ।
सेनाले बलि दिएका राँगा र बोकाको मासु सेनाहरुले नै खाने परम्परा छ । त्यस्तै, सेनाहरुले आफ्नै ब्यारेकमा विभिन्न नाँच गान, टिका जमरा लगाएर मनाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?