निर्वाचन आयोगमा प्रेस अफिसको उद्घाटन

लोकपथ
13
Shares

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेको हो । शुक्रवार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गरे । उनले प्रेस अफिसको उद्घाटन गर्दै अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने बताए ।

त्यस्तै, निर्वाचनसँग सम्बन्धित कुराहरुको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनले उल्लेख गरे । उनले सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता विपरितका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने बताए ।

आयोगले हरेक दिनको गतिविधि समेटेर साँझ ६ बजेभित्र ईबुलेटिन प्रकाशन गर्ने पनि उनले जानकारी दिए । प्रमुख आयुक्त थपलियाले आयोगमा प्रवक्तासँगै थप ३ जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरुसँग पनि सूचना लिन सकिने बताए । प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारीहरु रहने उनले उल्लेख गरे । उनले ३ जना विभिन्न क्षेत्रका विज्ञहरुलाई पनि नियुक्त गरिएको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमहरुको अनुगमन नगर्ने स्पष्ट पारे । आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उनको भनाइ छ । उनले कस्ता विषयवस्तुहरु गइराखेका छन् र सो विषयवस्तुहरुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिक रुपमा विश्लेषण गर्ने उनले स्पष्ट पारे ।

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्वपूर्ण भुमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरुलाई निर्वाचनमा प्रयोग गर्न आग्रह पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?