काठमाडौं । काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाइ सार्वजनिक गरिएको छ ।
शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाडौंको गोठाटारमा गत ३ असोजमा गोली हानीे हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले पक्राउ गरेका तीनैजना २१ वर्ष मुनिका रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए । उनले गोली हानी हत्या गर्न सहयोग गर्ने तीन जना मध्ये एकजना महिला रहेको बताए । बोहराले पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेको बताए । उनले पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट हत्या गर्नको लागि हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको बताए । उनले मोहम्मदको हत्याको लागि वीरगञ्जबाट काठमाडौंमा सुटरलाई हतियार दिएर घटनाको एक दिन अगाडि नै वीरगञ्ज पुगेको बताए । एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भुमिका खेलेको पाइएको पनि जानकारी दिए । उनले पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्तिहरु पनि संलग्न रहेको खुलेको बताए ।
उनले भने,‘घटना सम्बन्धमा प्रहरीको विशेष टोलीले अनुसन्धानका विभिन्न विधि प्रयोग गरेर घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न भएर फरार रहेकालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा दिएको छ । घटनामा संलग्न २१ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १६ का मोहम्मद महारम मिँया रहेका छन् । उहाँले हतियार व्यवस्थापन तथा योजना बनाउने काम गर्नुभएको थियो । दोस्रो १९ वर्षका पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १४ मा रेहान मिँया रहेका छन् । उसले पनि हतियार व्यवस्थापन तथा योजना रहेको थियो । तेस्रो २१ वर्षीया मकवानपुर जिल्ला बकैया गाउँपालिका १ सुस्मिता स्याङतान रहेकी छन् । उनी हाल काठमाडौंको कपनमा बस्दै आएकी थिइन् । उनले मृतकको गतिविधिको निगरानी गर्ने भुमिका रहेको थियो । सुस्मिता स्याङतान २०७६/०३/११ देखि २०७७÷११÷७ गतेसम्म चोरी मुद्दामा केन्द्रिय कारागार सुनधारामा कैद रहेकी थिइन् । घटनास्थलमा मेड इन अमेरिका लेखिएको पेस्तोल एक थान,एम एन चार पोका फेला परेको थियो । पक्राउ पर्ने तीन जनाउपर मुलुकी ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भइ काठमाडौं जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान हुँदैछ ।’
एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम बिन्दु कहाँसम्म पुग्छ भन्ने निस्कर्ष ननिस्किएको बताए । उनले वास्तविकतासम्म पुग्न समय लाग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया