शंकरदेवमा नेविसंघका नेता घिसिङले गरे उप–प्राध्यापकमाथि दुर्व्यवहार

लोकपथ
49
Shares

काठमाडौं । शंकरदेव क्याम्पसका उप–प्राध्यापक रविन्द्र भट्टराईमाथि दुर्व्यवहार भएको छ ।

नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका नेता विवेक लामा घिसिङले उप–प्राध्यापक भट्टराईमाथि दुर्व्यवहार गरेका हुन् ।

लामाले आफूले सिफारिस गरेका विद्यार्थीहरु विविए, विआइएम जस्ता कार्यक्रममा नपरेपछि उप–प्राध्यापक भट्टराईमाथि अभद्र व्यवहार गरेका हुन् । भट्टराई शंकरदेव क्याम्पसको उप–प्राध्यापक तथा विआइएम कार्यक्रमको डाइरेक्टर रहेका हुन् ।

उक्त कार्यक्रम अन्तर्गत प्रवेशिका परिक्षामा पास नभएका विद्यार्थीहरुलाई समेत पास गर्न दबाब दिएपछि भट्टराईले कोटा सकिएको जानकारी गराएका थिए । तर आफूले भनेका मान्छेहरुको भर्ना गर्नुपर्ने भन्दै लामाले भट्टराईमाथि अपशब्द बोल्ने, धम्की दिने लगायतका कामहरु गरेका थिए ।
घिसिङले भट्टराईमाथि अभद्र व्यवहार गरेको सिसिटिभि फुटेजसमेत सार्वजनिक भएको छ ।

लामाको यो मात्र पहिलो घटना भने होइन । उनले यसअघि सहायक क्याम्पस प्रमुख धनराज चालिसेमाथि अभद्र व्यवहार लगायतका घटना समेत घटाएका थिए ।

उप–प्राध्यापकमाथि हातपात भएसँगै प्राध्यापक संघ शंकरदेव इकाइले विज्ञप्ति जारी गर्दै घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
‘२०७९–०६–१२ गतेका दिन यस क्याम्पसमा उप–प्राध्यापक रविन्द्र भट्टराईमाथि विवेक लामा घिसिङद्वारा उच्छृंखल तथा अभद्र व्यवहार भएको घटनाप्रति त्रिवि प्राध्यापक संघ शंकरदेव क्याम्पस इकाइको गम्भीर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै सो घटनाप्रति त्रिवि प्राध्यापक संघ शंकरदेव क्याम्पस इकाई घोर निन्दा र भर्त्सना गर्दछ । आफ्नो प्रशासनिक दायित्व निर्वाह गर्ने क्रममा प्राध्यापकमाथि जघन्य अपराध गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही गर्न क्याम्पस प्रशासन समक्ष जोडदार माग गर्दछ ।’

त्यस्तै यता विभिन्न विद्यार्थी संगठनले समेत उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे सत्यसथ्य छानबिन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?