गठबन्धन सरकारको कुनै गन्तव्य छैन : ईश्वर पोखरेल

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उल्लेख गरे ।

उनले भने, ‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको उजागर हो । यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन् । अर्कोतर्फ गठबन्धन छ । यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन, केही दिनअघि मात्रै आदरणीय मदनकृष्ण दाईले प्रश्तुतीमा राख्नुभएको थियो, म त्यो झल्झली सम्झन्छु । वास्तवमा हामीलाई त्यस्तै लाग्छ । जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन । कार्यक्रम छैन, गन्तव्य छैन । त्यो गठबन्धनको नामले चिनिएको छ । राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो । त्यस कारणले आज देश दुई पोलमा विभाजित बनेको अवस्था छ । यही बेलामा हामीले आफ्नो मत प्रयोग गरेर राष्ट्रिय राजनीतिको दुई पोलमा विभाजित भइरहेको अवस्थामा कुन पोललाई हामीले सबल बनाउने, पक्षमा उभ्याउने भन्ने बारेमा नेपाली जनताले फैसला गर्नेछन् । राज्यका अंगहरु कसरी प्यारालाइसिस हुँदैछन्, हामी हेर्दैछौँ, अदालतको हालत यस्तो छ । कार्यपालिकाको हालत कस्तो के छ, व्यक्तिहरुको अवस्था के छ सबै बुझेका छौँ । विधायिकाको अवस्था कस्तो छ, बुझेका छौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताए । उनले अहिले देशको विद्रुप रुप देखापरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?