जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

लोकपथ
52
Shares

काठमाडौं ।  गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेश प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद ज्याउल इस्लाम, मधेश प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको सफलताको लागि शुभकामना दिए ।

‘जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन गरिएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।’ उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए ।

मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?