पूर्वाधार विकासलाई सामाजिक विकाससँग जोड्ने गुरुयोजना सरकारसँग छैन : ऊर्जामन्त्री भुसाल

लोकपथ
91
Shares

काठमाडाैं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताउकी छिन् ।

बिहीवार नेपाल इन्जिनियर्स एशोसिएशन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकम बीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धि लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन् । मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर वृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गर्दै अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन् ।

मन्त्री भुसालले अहिलेसम्म भौतिक पूर्वाधार विकास अपभ्रममार्फत भइरहेको बताइन् । उनले सरकार, राजनीतिक दलहरुले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरु योजना बनाउनु आवश्यक रहेको उल्लेख गरिन् ।

विकास विज्ञहरुसहित नेपालको नक्शा राखेर पूर्व पश्चिम दु्रत मार्ग, रेल मार्ग ,अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्नेकुराको हेक्का राखेर गुरु योजना बनाउनुपर्ने उनले बताइन् । मन्त्री भुसालले त्यस्ता गुरु योजनामा बस्ती विकासलाई कसरी जोड्ने भन्ने विषयमा वृहत छलफल गर्नु आवश्यक रहेको बताइन् ।

मन्त्री भुसालले नेपालको सार्वजनिक खरिद ऐन अनुसार ठूला विकास आयोजनाहरुमा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताउँदै त्यस्तो काम नेपाली इन्जिनियरहरुले गर्न सक्नुपर्ने उल्लेख गरिन् । भुसालले विभिन्न सरकारी निकायमा वा सरकारी निकाय भन्दा बाहिर रहेका इन्जिनिएरहरुले आफैँ योजना बनाउने काम नगरेको भन्दै गुनासोसमेत गरिन् ।

धेरै रकम खर्च गरेर प्राप्त गरेको इन्जिनियरिङ सम्बन्धि ज्ञानको प्रयोग नभएको बताउँदै मन्त्री भुसालले इन्जिनियरिङ स्टाप कलेज स्थापना तत्काल गर्नुपर्ने बताइन् । देश विकासको मुख्य जनशक्ति इन्जिनियर भएको तर्क गर्दै उनले भौतिक विकास गर्दै आर्थिक सामाजिक विकाससँग जोड्ने विषय इन्जिनियर बिना सम्भव नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?