नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

लोकपथ
104
Shares

काठमाडौं । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजाआराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठहरूमा आजा दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात् कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो ।

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।

स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।

यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले संसारीक पाप तथा कष्टबाट छुट्कारा मिल्ने विश्वास रही आएको छ ।

नवरात्रको पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरियो । नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?