टिकट वितरणमा विभेद भए विद्रोह गर्ने डा.शेखर पक्षको चेतावनी

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षले टिकट वितरणमा न्यायोचित व्यवस्थापन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएको छ । बिहीवार काठमाडौंमा आयोजित चियापान तथा दसैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै कांग्रेस नेताहरुले यस्तो बताएका हुन् ।

कांग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताऐ ।

उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए । उनले भने ‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ ।

गठबन्धनसँग जनमत छ । राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो । मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन । हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ । त्यही अन्तर्गत यो चियापन हो । सभापति ज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ ।

प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ ।’ त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाए ।

उनले यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए । उनले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको बताए । उनले पार्टी भित्रै निरंकुश र सामन्ति व्यवहार भएकाले आफूहरुले विरोध गर्नुपरेको बताए ।

उनले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए । उनले सट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने बताए ।

उनले भने ‘समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले आफूसँग नजिक हुनेलाई, अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिइएको छ । यो गैर जिम्मेवार छ । यो पार्टीको हितमा छैन । देशको हीतमा पनि छैन । यो सूचीबाट धेरै जनप्रिय मान्छेहरु छुट्नुभएको छ ।

पार्टीमा योगदानको कदर, क्षमताको, लोकप्रियताको कदर हुँदैन भने बिद्रोह गर्नु आवश्यक छ । लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक व्यवहार भइरहेको छ । निरंकुश व्यवहार भएको छ । सामन्ती व्यवहार भएको छ, त्यसकै बिरोधमा हामीले खबरदारी गरिरहेका छौँ । सिट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन गरिएको छ, यसको नतिजा राम्रो आउँदैन ।’

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएको दाबी गरे । उनले समानुपातिकतर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए । उनले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताए ।

उनले भने ‘समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएका छन् । ठूलो असन्तुष्टि छ, यसको सम्बोधन नगरी चुनावमा गए यसको घाटा गठबन्धनलाई नै पर्छ । गठबन्धन अघि बढाउने हो भने बन्दसूची संशोधन हुनुपर्छ । २३ गतेबाट हुने उम्मेदवारमा पनि न्यायोचित टिकट वितरण हुनुपर्छ । हाम्रो टिकट वितरणमा न्याय भएन ।’

नेता शिवाकोटीले असोज २३ गतेबाट हुने प्रत्यक्षतर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके बिरोध थप चर्किने बताए । बिहीवार काठमाडौंस्थित एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दसैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए । चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?