काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए ।
नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे ।
उनले भने ‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ ।’
उनले अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बताए । कांग्रेस नेता खेमराज केसीले समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए । उनले अझैपनि सूची संशोधन गरी समानरुपमा टिकट वितरण गर्न सके नेपाली कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको बताए ।
उनले पार्टीमा नातागाता र आफन्तवादलाई हेर्दा न्यायोचित रुपमा टिकट वितरण हुन नसकेको बताए । नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीबिरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए ।
उनले भने ‘दुई तिहाई आउन नेपाली कांग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ, टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान, त्यागी र ज्येष्ठ सदस्यहरु, जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ति मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ । कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रुपमा वितरण गर्नुपर्छ ।’
नेपाली कांग्रेसका नेता धर्म परियारले नेपाली कांग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर, आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताए । उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे ।
उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको बिरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको आरोप लगाए ।
उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली कांग्रेस २५ सिटमा खुम्चिनसक्ने बताए । उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने बिरोधको विकल्प नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया