शंखरापुरकाे सय दिन : निःशुल्क स्वास्थ्य, शिक्षादेखि कृषि र पर्यटनकाे विकाससम्म

लोकपथ
26
Shares

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रगति विवरण प्रस्तुत गरेका छन् ।

सय दिनको अवधीमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको उनले बताएका छन् । गर्भवती महिला, जेष्ठ नागरिकका लागि निःशूल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी ७ प्रकारका उपचार सेवा निःशुल्क तथा ११ वटा उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको जानकारी गराएका छन् ।

इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रम लागू गरिएको र मेयरसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सूरुवात गरिएको उनले जानकारी गराए ।

यस्तै शिक्षातर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको छ भने स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको जानकारी गराएका छन् ।

सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जनप्रतिनिधिहरु, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतको सामुहिक प्रयासबाट मात्रै शंखरापुर नगरपालिकाको समृद्धि, सुशासन र विकास संभव रहेको बताए ।

यस्तै नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिकालाई फोहोर मुक्त सफा स्वच्छ नगरपालिका बनाउन, पर्यटन र कृषिको माध्यमबाट समृद्धि हासिल गर्न, विकासका पूर्वाधार निर्माण गरेर नगरबासीको जीवनयापन सहज बनाउन लागि परेको बताए । उनले आफूले निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार निःशूल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम कार्यान्वयनमा लगिसकेको जानकारी दिए । गत स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको थियो ।

यस्तो छ शंखरापुर नगरपालिकाले १०० दिनमा हासिल गरेको महत्वपूर्ण केही कामहरु :

स्वास्थ्य सम्बन्धी

१) गर्भवती महिला तथा ६० वर्ष माथिका जेष्ट नागरिकहरुलाई निःशूल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको ।

२) सुष्मा कोइराला मेमोरियला अस्पतालसँग द्विपक्षीय सम्झौता गरी ७ वटा निःशुल्क तथा ११ वटा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको निःशूल्क सव बहानको व्यवस्था गरिएको

३) मेयरसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरुवात भएको ।

४) इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रमको शुभारम्भ भएको ।

५) जर्मन सरकारको सहयोगमा वडा नं ७ कठनचोकमा अस्पताल निर्माणको प्रक्रिया अगाडी बढेको विकास साझेदारहरुको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढेको ।

कृषि तथा पशुपंक्षी सम्बन्धी

६) बागमती प्रदेश सरकारले ५५ मेट्रिक टन रसायनिक मलको कोटा निर्धारण गरेकोमा नगरपालिकाको विशेष पहलमा १७९ मेट्रिक टन मलको कोटा बृद्धि गर्न सफल भएको ।

७)कृषि विकास कार्ययोजना तयारीको प्रक्रिया अगाडी बढेको ।

८) बागमती प्रदेश सरकारको लगानीमा वडा नं ३ मा पशु स्वास्थ्य क्लिनिक सञ्चालनको प्रक्रिया अगाडी बढेको ।

पर्यटनसम्बन्धी

९) नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयारीको प्रक्रिया अगाडी बढेको ।

शिक्षासम्बन्धी

१०) सामुदायिक विद्यालयमा माध्यमिक तह कक्षा ११ मा निःशूल्क भर्नाको व्यवस्था गरिएको ।

११) स्थानीय मातृभाषा नेपाल भाषा र तामाङ भाषामा पाठ्यक्रम तयारी कार्यदल गठन भएको ।

वातावरण तथा विपदसम्बन्धी

१२) ल्याण्डफिलको व्यवस्थापनको लागि नगरपालिकामा ल्याण्डफिल सम्भाव्यं स्थानको खोजी गरी उपयुक्त विकल्पमा फोहोर व्यवस्थापन गर्ने प्रयास भैइरहेको ।

१३) आईई गरी तोकिएको क्षेत्रबाट मात्र ढङ्गा, गिट्टी बालुवा उठाउने व्यवस्था मिलाइएको ।

१४) विपद व्यवस्थापन तथा रोकथामको लागि त्रिपाल वितरण तथा आर्थिक सहयोग गरिएको ।

सामाजिक समावेशीकरणसम्बन्धी

१५) बाबु आमा विहिन बालबालिकाहरुलाई पोषण शैक्षिक सामग्री र ४ हजार रुपैयाँका दरले उपलब्ध गराइएको ।

१६) सामाजिक समावेशीकरणका लागि विभिन्न किसिमका जनचेतनामुलक तथा सीपमुलक तालिम सञ्चालन गरिएको ।

सहकारीसम्बन्धमा

१७) नगरपालिका भित्रका सहकारी संस्थाहरुलाई वित्तीय जोखिमका क्षेत्रहरु, लेखापालन र सहकारी संस्थाको व्यवस्थापन सम्बन्धी सघन तालिम दिई संस्थागत सुदृढीकरण गर्ने गरिएको ।

विविध

१८) जापान, चीन लगायत युरोपियन मुलुकहरुका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्न प्रारम्भिक चरणको पहल भएको ।

१९) भूमि वर्गीकरण कार्य सम्पन्न गरिएको ।

२०)सम्पदा बस्ती भित्रका घरहरु निर्माणको लागि प्रति घर १ लाखमा २५ हजार थप गरी नगरपालिकाबाट उपलब्ध गराइएको ।

२१)नगरस्तरीय समीक्षा कार्यक्रम सम्पन्न गरिएको ।

२२) नगरपालिकाका विभिन्न वडाका सार्वजनिक जग्गाको लगत सङ्कलन कार्य अन्तिम चरणमा रहेको ।

२३) वडामा काम गर्ने इन्जिनियरिङ सेवाको प्राविधिकहरुबाट घ वर्गको निःशुल्क नक्सा निर्माणको व्यवस्था गरिएको ।

२४) काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लगानीमा साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन निर्माण प्रक्रिया अगाडी बढेको ।

२५) अपराधिक तथा विविध गतिविधिहरुको निगरानी गर्न वडाका विभिन्न क्षेत्रहरुमा सि. सि. टि.भि. क्यामरा जडान गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?