पत्रकारलाई बुटवलका मेयरकाे प्रश्न : तपाईंले जहिले पनि नेगेटिभ समाचार लेख्ने हाे ?

लोकपथ
104
Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममै पत्रकारमाथि अपमानजनक शब्द प्रयोग गरेका छन् ।

उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख पाण्डेले पत्रकार डिबी सुस्लिङलाई अपमानजनक शब्द प्रयोग गरेका हुन् । पत्रकार सम्मेलनमा उनले ग्लोबल आवाजका समाचार प्रमुख सुस्लिङलाई ‘तपाईंले जहिले पनि नेगेटिभ समाचार लेख्ने ? आफूले लेखेका समाचारबारे तपाईंलाई लाज लाग्नु पर्ने हो’ जस्ता शब्द प्रयोग गरेका थिए ।

उपमहानगर प्रमुख पाण्डेले गरेको उक्त व्यवहारप्रति प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीले विज्ञप्तिमार्फत आफ्ना कार्यसमिति सदस्य सुस्लिङप्रति भएको अपमानले स्वतन्त्र प्रेसप्रतिको सम्मानमा आँच पुगेको उल्लेख गरेको छ ।

अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै पत्रकार सुस्लिङलाई नगर प्रमुख जस्तो पदमा बसेको व्यक्तिले अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय उल्लेख छ । ‘यसप्रति प्रेस चौतारी नेपाल रुपन्देही बुटवल उपमहानगर प्रमुखको उक्त कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दा,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई दुर्व्यवहार र अपमान गर्नु प्रेस स्वतन्त्रताविरोधी काम भएको भन्दै विज्ञप्तिमा प्रेस चौतारी प्रेसस्वतन्त्रता विरोधी यस्ता घटनाको कडा शब्दमा भर्त्सना गरिएको छ ।

अपमानजनक शब्द प्रयोग गरेकोमा नगरप्रमुखलाई तत्काल माफी माग्न र त्यस्ता शब्द फिर्ता लिन माग गर्दै चौतारीले पत्रकारलाई सुरक्षित र सहज पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?