अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

लोकपथ
104
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रोनोर्फिन १ सय एम्पुल सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी सुनौलो नगरपालिका–२ बस्ने २७ वर्षीय निर्मल कार्की छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १५९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय एम्पुल, नोर्फिन ९ सय एम्पुल र डाइजेपाम ९ सय एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २२ वर्षीय रामेश्वर साह र सोही ठाउँ बस्ने २२ वर्षीय राज कुमार साह रहेका छन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

रौतहटको इशनाथ नगरपालिका–८ मनसरी टोलबाट करिब २५ किलो गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्तपुर बस्ने २० वर्षीय दिपेन्द्र मुखिया र सितामढी किसानपुर बस्ने १९ वर्षीय अशोक कुमार दास रहेका छन् ।

प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले उक्त गाँजा फालि मोटरसाइकल सहित फरार भएपछि उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।

फरार भएका उनीहरूको खोजी गर्ने क्रममा प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?