नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भयो : अध्यक्ष भट्टराई

लोकपथ
52
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने बताए । उनले भने ‘एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ । त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन् ।’

अध्यक्ष भट्टराईले विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको बताए । उनले भने ‘चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ । कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान, विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर आफ्नो आफ्नो प्रकारका सबैखाले, हिन्दु, मुस्लिम, क्रिश्चियनका, आदिवासी जनजातिहरुका सबैका आफ्ना आफ्ना प्रकारका भगवानको आविष्कार गरिएको थियो ।

किनभने यो विज्ञान गतिका नियमहरु थाहा थिएन । जसकारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए । अधिकांश चाडपर्वमा त्यस्तै देखिन्छ । पहिला त स्वभाविक थिए । अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ ।’

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे । उनले सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे ।

उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरु संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?