राजेन्द्र लिङ्देनले भने–‘यिनै पार्टी र नेतालाई कतिचोटी भोट दियो भने देश बन्छ होला?’

लोकपथ
65
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने बताएका छन् । काठमाडौंमा बुधवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कै नेता तथा दललाई कतिपटक जिताउँदा देश बन्छ भन्दै प्रश्न गरे ।

‘यिनै पार्टी, यिनै नेता, जसलाई तपाईंले कतिचोटी भोट दियो भने देश बन्छ होला?,’ उनले भने, ‘अब पनि यिनै पार्टी, यिनै नेतालाई भोट दिने भनेको ति नेतामात्र दोषी होइनन्, ति पार्टीमात्र दोषी होइनन्, तिनलाई भोट दिने तपाईं पनि दोषी हो ।

देश बिगार्ने काममा तपाईं पनि संलग्न भएको ठहर्छ । कांग्रेस, कम्युनिष्ट कार्यकर्ताले भन्नसक्छन्–हाम्रो नेतालाई यति पटक जिताऔँ भने देश बन्छ भनेर ?’ दलीय भागबण्डामा न्यायाधीश र संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेका दलहरुले राप्रपालाई पश्चगामीको आरोप लगाएको भन्दै उनले अहिलेको राजनीतिक प्रणाली नै असफल भएको दाबी छन् ।

‘हामीले राजनीतिक दलरहित न्याय परिषद हुनुपर्छ भनिरहेका छौँ । दलीय भागबण्डामा न्यायाधीश नियुक्त हुनुहुँदैन भनिरहेका छौँ । तपाइँहरु दलीय भागबण्डाका आधारमा संवैधानिक अंगहरुमा नियुिक्त गरिरहनु भएको छ, फोन गरेर मुद्दा फैसला गर्न निर्देशन दिइ रहनुभएको छ, तपाईंहरु अग्रगामी ? अनि हामी पश्चगामी ?,’ उनले भने ।

२०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्न राप्रपाले माग गरिरहेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै असफल भएको दाबी गरे ।

२०४६ सालयताका कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले ३२ वर्षको समयमा २६ वटा सरकार बनेका र ति सरकारले कार्यकाल पूरा गर्न नसक्नुमा निर्वाचन प्रणाली नै कारक रहेको बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?