बैंकहरुले ब्याजदर बढाएर व्यवसायीहरुलाई ठगी गरेको आरोप

लोकपथ
52
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरेको आरोप लगाएका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले सरकारले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण नभएका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए । बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले चर्को ब्याज लिइरहेको उनको आरोप छ । उपाध्यक्ष श्रेष्ठले बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जोडेर ऋणिमाथि थप बोझ थपेको बताएका हुन् ।

बैंकहरुले आफैं ब्याज बढि दिने र आधार दर बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले जानकारी दिए । उनले बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गर्न नपाउने बताए । उनले बजारमा तरलता अभावले बैंकहरुको शाखामा १० लाखको चेक लिएर जाँदासमेत पैसा छैन भनेर फर्कनुपर्ने अवस्था रहेको बताए ।

उनले बैंकहरुले अहिले उच्च नाफाको लागि लगानी गरिरहेको बताए । उनले बैंकको २ अर्बको पुँजीमा २ करोड कमाउँदा १० प्रतिशत लाभांश बाँड्न पुग्ने भन्दै अहिले २४ अर्बको पुँजी भएकाले २ अर्ब कमाउनको लागि ब्याजदर बढाएर कमाउन लागेको उल्लेख गरे । उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले नै बैंकहरुलाई ब्याज बढाउन छुट दिएको आरोप लगाए । उनले बैंकहरुले बढाएको १५ प्रतिशत ब्याज स्वभाविक नभएको भन्दै ब्याजदर वृद्धिको समस्या समाधानको लागि व्यवसायी,बैंक, राष्ट्र बैंक र सरकार मिलेर जानुको विकल्प नभएको जिकिर गरे ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंकहरुको मर्जरको औचित्यबारे प्रश्न उठाएका छन् । उनले खुला बजार अर्थतन्त्र लागुहुँदै गर्दा धमाधम बैंकको लाइसेन्स बाँडिएको र अहिले बैंकको संख्या घटाउँदै किन मर्ज गर्न लागेको ? भन्दै प्रश्न गरे । उपाध्यक्ष श्रेष्ठले बैंकको संख्या कम गर्ने बैंकहरुलाई मर्ज गराएर राष्ट्र बैंकले बैंकिङ प्रणालीलाई संकुचित बनाउन खोजेको अरोप लगाए ।

उनले खुला बजार अर्थतन्त्रलाई अब अर्कै बाटो हिँडाउन लागिएको वा खुला बजार अर्थतन्त्रमा वाणिज्य बैंकको संख्या घटाएर एकाधिकार प्रकृतिको अर्थतन्त्र निर्माण गर्न लागेको भन्दै आपत्ति जनाए । उनले बैंकहरुको मर्जर नीतिलाई राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने आशय व्यक्त गरे । उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले बैंकहरुको मर्जर गर्ने नीति लिँदा बैंकहरुलाई ब्याज बढाउने बढवा मिलेको बताएका छन् । उनले बैंकहरुले नाफा कमाउनु हुँदैन भन्ने पक्षमा नभएको बताउँदै अर्थतन्त्रमा देखिको समस्यामा निजी क्षेत्र मात्रै धैर्य भएर बस्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले अहिले व्यवसायीहरुको दसैँको अवस्थामा पनि ८० प्रतिशत व्यापार कमभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?