नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने

लोकपथ
78
Shares

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।

उनले नवौं राष्ट्रिय खेलकुदको लागि सोमवारसम्म करिव ५५ सय खेलाडीहरु दर्ता भएको जानकारी दिए । उनले नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका र अन्य प्रदेशका भने केही खेलाडीहरु ड्राफ्टमा रहेको बताए ।

उनले भने ‘नवौं राष्ट्रिय खेलकुदको लागि हिजोसम्म आइपुग्दा करिव ५५ सय खेलाडीहरु दर्ता हुनुभएको छ । नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका छन् भने केही खेलाडीको हकमा अझै केही संख्या ड्राफ्टमा रहेको छ । अब समय थप्ने कुरा छैन । कुनैपनि स्पष्ट कारण खुलाएर सहभागी टिमले भन्नुभयो भने हामी निश्चित समय र निश्चित प्रदेशका लागि खोल्नेछौँ ।’

पोखरास्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रवार हुनेछन् । यस्तै, नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीवार गर्ने तालिका रहेको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भने काठमाडौंमा सम्पन्न भइसकेको छ । ११ टोलीले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले अर्को विभागीय टोली त्रिभूवन आर्मी क्लवलाई हराउँदै नवौंको पहिलो स्वर्ण पटक हात पारिसकेको छ ।

यस्तै मंगलवार नै आयोजित अन्तरक्रिया कार्यक्रममा नवौंमा सहभागि हुन लागेका खेल संघलाई आयोजक राखेपले २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेको छ । नगद दुई लाख बाहेक अन्य सुविधा भने नदिने जानकारी दिएको छ । ३५ दिन भित्र पेश्की फस्र्यौट गर्न पनि ताकेता गरेको छ ।

२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन । हरेक दुई–दुई वर्षमा आयोजना हुने तालिका भएपनि कोभिड–१९ का कारण नवौं राष्ट्रिय खेलकुद पछि धकेलिएको हो । ३६ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदै छन् ।

यसै संस्करणबाट राखेपले रनिङ ट्रफी पनि बनाएको छ । हाल ट्रफी भ्रमणमा रहेको छ । ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइँदैछ । ओलम्पियन तेक्वान्दो खेलाडी दीपक बिष्टको संयोजकत्वमा रहेको कार्यदलले ट्रफी टुर गराउँदै छन् ।

उक्त कार्यदलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्वकप्तान पारस खड्का, अल्ट्रा धावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही छन् । नवौंका प्रतिष्पर्धा गण्डकी प्रदेशको ११ वटै जिल्ला गरिने भनिए पनि सात जिल्लामा मात्र खेलाइने भएको छ ।

सार्वजनिक खेलतालिकाअनुसार पोखरामा मात्र २६ वटा खेलका प्रतिष्पर्धा हुने भएका छन् । गण्डकीका कुल ११ जिल्लामध्ये तनहुँ, लमजुङ, मुस्ताङ र मनाङमा नवौंका कुनैपनि खेल नहुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?