आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

लोकपथ
52
Shares

काठमाडौं । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।

पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्ध चन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्र शस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरूप शान्तिदायक र कल्याणकारी रहेको छ ।

असत्यको नाश र सत्यको रक्षाका लागि देवीले चन्द्रघण्टाको रूप धारण गरेको श्रीमद् देवीभागवत पुराणमा उल्लेख छ । शारीरिक तथा मानसिक कष्टबाट छुटकारा पाउन चन्द्रघण्टा देवीलाई पुजिन्छ ।

चन्द्रघण्टा देवीलाई दूध अथवा दूधबाट बनेको परिकारहरू चढाउने चलन छ । दूधका परिकारहरू चढाउँदा देवी प्रसन्न हुने जनविश्वास छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गरिन्छ ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?