जुम्लामा म्यादी प्रहरी : माग ८४३, आवेदन दिने १ हजार ६७३

लोकपथ
52
Shares

जुम्ला । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले जुम्लाका लागि आठ सय ४३ जना म्यादी प्रहरी माग गरे पनि दुई गुनाभन्दा बढीले आवेदन दिएका छन् । सरकारले ६ देखि ९ असोजसम्म आवेदन दिनसक्ने गरी सूचना जारी गरेको थियो ।

यस अवधिका जुम्लाबाट एक हजार ६ सय ७३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमध्ये चार सय ५८ महिला रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोसीले जानकारी दिए । उनले भने, ‘मागभन्दा दोब्बर आवेदन आउनुले बढ्दो बेरोजगारी दरको संकेत गर्छ ।

स्थानीय स्तरमा रोजगारको कुनै मध्यम छैन । उनीहरू मध्यबाट म्यादी प्रहरी चयन भइरहेको छ । आज छनोट प्रक्रिया सकिएको छ ।’ उनका अनुसार म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएदेखि ४० दिनसम्मको हुनेछ । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेतको व्यवस्था गरिएको छ ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार म्यादी प्रहरी छनौट प्रक्रिया मंगलवार सकिएको छ । उनले भनिन्, ‘बुधवार ८ बजे लिखित परीक्षा हुँदैछ । यहि १४ असोजसम्म मौखिक परीक्षा सकिन्छ । यहि २५ असोजमा फाइनल नतिजा आउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?