काठमाडौं महानगर बजार अनुगमन : अखाद्य सामग्री भेटिएपछि…

लोकपथ
130
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँ लक्षित बजार अनुगमन गरेको छ । मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दसैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेतसमेत गराइएको जानकारी दिइन् । उनले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताएकी छिन् । उपमेयर डंगोलले अनुगमनको क्रमलाई दसैँपछि पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दैै उनले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएकी हुन् ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो । जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन् । उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताइन् । उनले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिबद्धता जनाएकी छन् । उनले यस वर्षको दशैँका लागि विभागले १८ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको जानकारी दिइन् । उनले कतिपय च्याङ्ग्राहरु आइसकेको र केही आउने क्रममा रहेको पनि जानकारी दिइन् ।

त्यस्तै, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाए । उनले महानगरले गरेको आजकै अनुगमनमा पनि सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गरे । उनले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानुनले नै वर्जित गरेको बताए । उनले सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री भेटिएको भन्दै सरकारी संस्थाहरु सबैभन्दा बढि परादर्शी र स्वस्थ रहन आवश्यक रहेको बताए ।

उनले नागरिकप्रति सरकारी संस्थाहरु जिम्मेवार बन्नुपर्ने र विशेष गरी स्थानीय सरकारले यसको जिम्मा लिन आवश्यक रहेको बताउँदै अहिले बजार अनुगमन नियमित हुन नसकेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?