क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सकहरु

लोकपथ
52
Shares

ललितपुर । क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’सँंग सोमवार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरु पूर्व बिरामीहरुको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर विजेताहरुले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए । सोही कार्यक्रममा क्यान्सर विजेताहरुको हौसला बढाउन डाक्टरहरुसमेत नाचगानमा सहभागी भएका थिए ।

क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठले क्यान्सरको सबैभन्दा ठूलो औषधि मनोबल भएको भन्दै मनोबल उच्च राख्न सके क्यान्सर रोगलाई परास्त गर्न सकिने बताए । उनले क्यान्सर रोग निको हुने रोग भएको भन्दै हौसलालाई निरन्तर बढाइराख्न सुझाए । डली गुरुगले क्यान्सर विजय प्राप्त गरेको पाँंचौ वर्षको अवसरमा गरेको ३६ औं क्यान्सर विजेताहरुको भेटघाटमा म्युजिकल चेयरलगायतका विभिन्न कार्यक्रमहरु राखिएको थियो ।

साथै, सांगितिक कार्यक्रम पनि राखिएको थियो । त्यही कार्यक्रममा चिकित्सक, क्यान्सर विजेताहरु अन्य सहभागीहरु नाचगान गरी रमाएका थिए । नाचगानमा नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठलगायतले क्यान्सर विजेताहरुको खुशीमा सहभागी हुँदै हौसला बढाउन नाचगानमा साथ दिएका थिए ।

कार्यक्रममा क्यान्सर विजयी भएको पाँंच वर्ष पूरा गरेका क्यान्सर विजेता डेली गुरुगले हाल क्यान्सर रोगको उपचार गरिरहेका तीन जना बिरामीहरुलाई आर्थिक सहयोग डोनेशन वितरण गरेकी थिइन् । साथै, क्यान्सर विजेताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा एक दर्जन चिकित्सक, तीन दर्जन क्यान्सर विजेता तथा त्यससँंग सम्बन्धीत व्यक्तिहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?