कास्कीकोट दरबारमा जमरा राखियो, लोपोन्मुख सरुन खेल प्रदर्शन गरिने

लोकपथ
52
Shares

पोखरा । नेपालको ऐतिहासिक दरबार कास्कीकोटमा जमरा राखिएको छ । त्यहाँ रहेको गुप्तकालीका मन्दिरमा विशेष साइत पारेर घटस्थापना गरिएको हो । त्यहाँ अहिले पनि नव दुर्गा महोत्सव हुने भएको छ । वर्षेनी कास्कीकोटमा तान्त्रिक र वौदिक हिसाबले पूजा गरिन्छ । विजया दशमीसम्म पाणा पुजारीहरू मन्दिरभित्र बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ ।

नेपालबाटै लोप हुने अवस्थामा रहेको सरुङ खेल र मालश्री धुन प्रदर्शनी गरिने गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । दसैँमा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू प्रदर्शन गरिने छ ।

कास्की दरबारमा घटस्थापनाको दिन विधि पूर्वक मन्दिर प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको राम घाटबाट ल्याइएको फूलपत्र र कुँवर जातीको सरुङ खेलसँगै मन्दिरमा भित्र्याउने चलन छ । अष्टमीका दिन राती काल रात्रिको पूजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दिरमा टिका लगाएपछि विधिवत रूपमा फूल विसर्जन गरिन्छ ।

यहाँ पूजा गर्न तथा पञ्चवली भाकल गर्नेहरूको भिड सुरु भैसकेको छ । कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । कास्कीकोटबाट नै नेपाल राज्यमा शाह वंशको उदय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?