विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट

लोकपथ
39
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो ।

मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्तगर्तका सरकारी अस्पतालहरुमा समेत यसै बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनि मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई सरकारी अस्पतालहरुमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताए ।

उनले सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने बताए । उनले अनेरास्ववियूले यसलाई विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा लिएको बताए ।

विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसूती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालयलगायत देशभरका २७ वटा अस्पताल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?