योग प्रेमी परिवारको दोस्रो साधारण सभाबाट अध्यक्षमा आचार्य चयन

लोकपथ
858
Shares

काठमाडौं । योग प्रेमी परिवार नेपालको दोस्रो वार्षिक साधारण सभाले भीम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा योग प्रेमी परिवार नेपालका प्रमुख संरक्षक डा.हरिप्रसाद पोखरेल ‘मनसाग्नी’ को उपस्थितिमा भएको साधारण सभाले डा.बालकृष्ण खनाललाई उपाध्यक्ष र मुकुन्द बोगटीलाई महासचिवमा निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, योग प्रेमी परिवार नेपालको सचिवमा वीरबहादुर थापा, कोषाध्यक्षमा सुनोज श्रेष्ठ, सह–कोषाध्यक्षमा चिनीमैंया दाहाल निर्वाचित भएका छन् । नेपालको सदस्यमा रविप्रसाद पौडेल, रेशम पण्डित, दिपा गुरुङ, भरत गुरुङ र सुमित्रा घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

बुढानीलकण्ठमा मेयर मिठाराम अधिकारीले उद्घाटन गरेको उक्त साधारण सभामा अधिकारीले बुढानीलकण्ठलाई योग नगर बनाउन योगका संस्थाहरूलाई ऐक्यबद्ध भएर लाग्न अनुरोध गरे । यस्तै प्रमुख संरक्षक डा.हरिप्रसाद पोखरेल ‘मनसाग्नी’ ले राजनीतिले आम मानिसहरूको सोचमा परिवर्तन ल्याउँदै गएको अवस्थामा योगको क्षेत्रमा पनि प्रभाव परेको तर, यो प्रभावले विखण्डन भन्दा विभिन्न समूहमा सक्रियता पैदा गरेको बताए ।

योगको अध्यापनमा विभिन्न विश्वविद्यालयहरूले सक्रियता देखाएको कारण नेपालको योग गर्ने भूमि मात्र नभएर अध्ययनको केन्द्र समेत बन्ने बताए । योग प्रेमी परिवार नेपालका संरक्षक योग गुरु भानुभक्त दाहालले योगले सबैलाई जोड्दै लैजाने हुनाले योग प्रेमी परिवार नेपालले स्थापनाको छोटो समयमै धेरै योग शिक्षकहरू उत्पादन गर्न सफल भएको र ती शिक्षकहरूले समाज रूपान्तरणमा सक्रिय लागि रहेको बताए ।

निवर्तमान अध्यक्ष खेटराज मैनालीले कोरोना कहरको बेला संस्थागत अवधारणा लिएको योग प्रेमी परिवार नेपालले त्यो बेला जुम मार्फत देश विदेशमा रहेका हजारौँ नेपाली भाषीहरूमा योग र प्राकृतिक चिकित्साका उपायहरू बताएर समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?