जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर दसैँ सुरु

लोकपथ
117
Shares

जुम्ला । जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दसैँ सुरु भएको छ । जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेर विधिपूर्वक घटस्थापना तथा दसैँको सुरु भएको मान्दै आएको पाइन्छ ।

चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गरिएको हो । धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यस कारणले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठीव्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए ।

‘बर्सेनि घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ,’ उनले भने, ’सबैभन्दा ठूलो लिंगो ४७ हातको लिङ्गो र ४७ हातकै ध्वजा र नेजा राखिएको छ ।’ एउटा ४५ हाते र अर्को ३७ हाते चारवटा लिङ्गो फेरिएको छ । चन्दननाथ र अखडा देवी र बटुक भैरवनाथको गरी तीनवटा र एक विजयी स्तम्भ गरी चार लिंगो खडा गरेको जानकारी दिएका उनले वनजंगल नासिँदै गएपछि ५२ हाते लिङ्गा पाउन मुस्किल भएको बताए ।

नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ । लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटस्थापना सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?