संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो : बाबुराम भट्टराई

लोकपथ
52
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौंथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाए । उनले संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए ।

उनले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभइ नहुने भन्दै संघीयतामा गएपनि ठीक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा बुटी भइरहेको बताए । अध्यक्ष भट्टराईले संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गरे ।

उनले भने ‘अहिले म कसैको नाम यहाँ लिन चाहन्न, उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिचिदिने, जुन काम अहिले भइरहेको छ, कोहीको पनि जिम्मेवारी छैन । भेटेसम्म यो शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्र डुंगामा प्वाल पार्दिने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नको निम्ति पनि हामीले लोकतन्त्रको सदृढीकरणको विषय महत्वपूर्ण छ । उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ ।

अमेरिका लगायतका मुलुकका थोत्रा प्रकारको लोकतन्त्र ल्याएर बसिरहने ? लोकतन्त्रको सुुदृढीकरण, सबलीकरण र यसको उन्नत तहको विकासको विषयलाई अलि विशेष ध्यान दिनुपर्छ ।’

अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे । उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलबभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे ।

अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गरे ।

अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने शुरुवात गरेपनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताए । उनले नेपालमा राष्ट्रिय अनुसन्धान कोष छुट्टै स्थापना गर्न आवश्यक रहेकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?