विकासको नाममा संरचना भत्काउने काम गर्नु हुँदैन : मन्त्री श्रेष्ठ

लोकपथ
104
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नु नहुने बताएका छन् ।

आइतवार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए ।

उनले पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दीगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए ।

उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले भने ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । शहरका पहिलाका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ ।

साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरु गर्नुहुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।

पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेका छौँ ।’ मन्त्री श्रेष्ठले पर्यटनबाट आर्थिकोपार्जन र रोजगारीको लागि कोही पनि मानिस विदेश जान नपर्ने गरी पर्यटन क्षेत्रको विकास गरिने बताए ।

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरुको स्थापना गर्ने योजना बनाएको बताए । उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले कयोजनावद्ध रुपमा काम गरिरहेको बताउ ।

पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर हघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको मन्त्री श्रेष्ठले उल्लेख गरे । उनले भने ‘अहिले हामी बिस्तारै आधुनिकताको नामबाट हिजोका हाम्रा संस्कृतिहरुलाई भुल्दै गएका छौँ । नयाँ घर निर्माण गर्दा आधुनिकशैली अपनायौँ । जसले गर्दा हिजोको पहिचान मेटिँदै छ । हाम्रो उद्देश्य भनेको यसलाई पुरानै शैलीमा लैजानु हो ।

हिजोका सम्पदाका शैलीलाई त्यही रुपमा स्थापना गर्ने हाम्रो उद्देश्य छ । यो बाटोमा सबै घरहरु पुरानै शैलीमा जाओस् भन्ने योजना बनाएका छौँ । एशियाली विकास बैंकले यसमा अध्ययन गरेर संलग्न हुन चाहन्छौँ भन्नेकुरा राख्नुभएको छ, यो एउटा नयाँ सम्भावना छ ।’

हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकहरुलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए ।

उनले पर्यटकहरुले शान्तिपूर्ण रुपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?