डेंगु नियन्त्रण गर्न लमजुङका स्थानीय तहले थाले अभियान

लोकपथ
39
Shares

लमजुङ । डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।

सदरमुकामस्थित बेसीसहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुवात गरेको छ । कोभिड–१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिह अर्याल बताउँछन् ।

‘कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेंगुले दुःख दिन थाल्यो,’ उनले भने, ‘हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।’ डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले जानकारी दिए ।

‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरू जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ,’ उनले भने, ‘प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।’

‘सबै जागौं, सबै लागौं वरिपरि जमेको पानी हटाई डेंगु भगाऔं’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । लमजुङमा डेंगुबाट संक्रमित हुनेको संख्या ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?