काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै शेखर पक्षले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरिएको हो ।
उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने बताउँदै नेता गुरुराज घिमिरेले समानुपातिकमा देखाउन मिल्ने मान्छे राख्न भनेका हुन् । उनले संस्थापन पक्षलाई प्रश्न गर्दै अहिले प्रदेश नम्बर १ बाट राखेका मान्छे हामीले नै नचिन्ने भएको बताएका हुन् ।
पार्टीमा न्यायोचित रुपमा टिकट वितरण नभए ४० प्रतिशत भाग चाहिने घिमिरेले बताए । उनले कार्यकर्तालाई न्यायोचित अवसर चाहिने बताएका छन् । ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन। अब टुलु टुलु हेरेर नबस्ने पनि उल्लेख गरेका हुन् ।
उनले सत्तारुढ गठबन्धनको बैठकमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताए । पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर पक्षका पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन पनि घिमिरेले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगले दिएको समय असोज १६ गतेभित्र नसच्याए प्रतिवादमा उत्रिने बताए । उनले समानुपातिक सूची १६ गतेसम्म सच्चिएन भने नयाँ बाटोका लागि आफू पक्षका सबै नेताहरुलाई तयार रहन पनि आग्रह गरेका हुन् ।
नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापति शेरबहादुर देउवाले पार्टीका लागि भन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए । भातृसंस्था लथालिङ्ग पारेर चुनावमा जान किन कांग्रेस खोजिरहेको छ ? भातृ संस्थालाई पूर्णता दिने पार्टीको निर्णय किन कार्यान्वयन भएन ? भन्दै आचार्यले प्रश्न गरे ।
तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए । केन्द्रीय सदस्यमा देउवालाई बहुमत छ । केन्द्रीय सदस्यमा बहुमत पुगेर मात्र चुनावमा बहुमत आउँछ ? मत दिने त जनताले होला नि शाहीले भने । त्यस्तै, पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले कांग्रेस विचारको हो कि ब्रिफकेसको भनी प्रश्न गरे । ‘कांग्रेसमा विचार मरेको छ । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ । बहुमतको नाममा विभेद गर्न पाइँदैन’ उनले भने ।
डोटीका नेता भरत खड्काले उम्मेदवार छनोट न्याय संगत नभए शेखर पक्षले देशभर उम्मेदवारी दिने आँट गर्नुपर्ने बताए निवर्तमान सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया