नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दो छः अध्यक्ष भट्टराई

लोकपथ
13
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए । उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए । अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गरे । उनले केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गरे ।

अध्यक्ष भट्टराईले भने, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकी पुराना शक्तिहरुले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौं । केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ।’

अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए । उनले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाए। अध्यक्ष भट्टराईले राज्यका सबै अंगहरुमा बेथिति भित्रिएको र यस्ता बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको जिकिर गरे ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको दोस्रो संविधान सभाबाट जुन सरकार बन्यो, जुन नेतृत्व बन्यो, तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीजी, र उहाँको टिमले यो उपलब्धिहरुको रक्षा गर्नुको साटो, सबलीकरण गर्नुको साटो धमिराले झैँ भित्रभित्रै ती संस्थाहरुलाई कमजोर पार्ने, जुन प्रयत्न गर्नुभयो, त्यो प्रक्रिया अहिले पनि रोकिएको छैन । अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अंगहरु, राज्यका सबै अंगहरु बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्, त्यसले हामीले यत्रो सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ । त्यसैबिरुद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौँ । हामी अत्यन्त गम्भीर अवस्थामा छौँ ।’

अध्यक्ष भट्टराईले सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेको बताए । उनले बजारमा बनेको सामाजिक सञ्जालरुपी विषालु मादक पदार्थले मानिसको चेतना र विचार नै विभ्रमति पार्ने काम गरिरहेको बताए । उनले शंकटकाल घोषणा गर्ने, टाउकोको मूल्य तोक्ने प्रतिग्रामी शक्तिले अहिले देशलाई अस्थिरतातर्फ लगेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?