उपभोक्तामाथि ठगी बढेपछि बजार अनुगमन तीव्र

लोकपथ
143
Shares

काठमाडौं । उपभोक्तामाथि ठगी गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई रु दुई लाख जरिवाना गर्यो ।

विभागको टोलीले अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो ।

विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक खाद्य वस्तु बिक्रेतालाई रु दुई लाख जरिवाना गर्यो । टोलीले मूल्यसूची, फर्म दर्ता प्रमाणपत्र बिक्री स्थलमा नराखेको भन्दै ललितपुरकै लगनखेलस्थित एक औषधि पसललाई रु ५० हजार जरिवाना गरेको छ । चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

पछिल्लो एक सातामा मात्रै विभागले दुई सय ७२ फर्ममाथि अनुगमन गरेको छ । गत साउनदेखि हालसम्म आठ सय ४४ फर्मको अनुगमन गरी एक सय ७५ वटा फर्मलाई जरिवाना गरिएको छ । जरिवानाबाट ३५ लाख ३१ हजार राजश्व उठेको छ । सो अवधिमा २३ लाख ९९ हजार मूल्य बराबरको म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेका अधिकांश फर्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ ।

अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल लिइ विभागमा उपस्थित हुन, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ । विभागले खाद्य वस्तु, तरकारी फलफूल, मिनि मार्ट, फार्मेसी, माछामासु, सुर्तीजन्य एवं मदिरा, डेरी प्रोडक्ट, तयारी तथा थान कपडा पसल, कस्मेटिक तथा मिठाइ पसलमा अनुगमन गरेको थियो ।

विभागका निर्देशक हरि पङ्गेनी चाडबाड नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ्ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्र पारिएको बताउछन् । बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उनको भनाइ छ । विभागले १० वटा अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यापारीले बिलबिजक देखाउन नसक्ने, खरिद र बिक्री बिल नभएको, सरसफाइमा ध्यान नदिएकोलगायतका अवस्था भेटिएको थियो । विभागले क्षेत्रगत विज्ञलाई साथमा लिएर अनुगमन गरिरहेको छ ।

सार्वजनिक बिदाका दिन पनि अनुगमनका लागि विभिन्न स्थानमा टोली खटिइएको निर्देशक पङ्गेनीले जानकारी दिए । बजारलाई व्यवस्थित बनाउन केही दिनअघि विभागले काठमाडौँ महानगरसँग पनि छलफल गरेको छ । स्थानीय तहका उपप्रमुख बजार अनुमगन समितिको अध्यक्ष हुने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?