चाडपर्वमा कर्णालीमा चार हजार बढि प्रहरी परिचालित

लोकपथ
78
Shares

सुर्खेत । ठूला चाड पर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा धेरै प्रहरी खटाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार एक सय ४१ जना प्रहरी जनशक्ति खटाइएको जनाएको हो ।

यसैबीच, चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधिको शंकास्पद सम्भावित स्थानमा पहिचान गरी त्यस्ता स्थानहरूमा तालिम प्राप्त जनशक्तिसहित जाँचको व्यवस्था गरिने छ ।

प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १ सय २५ वटा नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित जाँच स्थल राखिने छ । त्यसैगरी, ट्राफिकसहितको संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच, चोरी, तस्करी, लागु औषध कारोबारलगायतका अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।

त्यसैगरी, झैँ–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा चेकिङ हुने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

यसैबीच, सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्ग एवम् ज्येष्ठ नागरिकको सुरक्षाको अधिकारलाई सुनिश्चित गर्न प्रहरी तत्पर रहेको कार्ययोजनामा भनिएको छ ।

चाडपर्वको समयमा गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवा तासलगायतका आपराधिक घटनाहरू हुन सक्नेतर्फ प्रहरी सचेत रहेको पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

असोज ९ गतेदेखि लागु हुने कार्ययोजनामा भनिएको छ, ‘कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरूको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैक तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यसम्म जाने यात्रुहरू समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लाहरुमा सुरक्षा योजना बनाई लागु गरिएको छ ।’

चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छित रआपराधिक क्रियाकलापहरू रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न कार्ययोजना तयार गरिएको प्रहरीले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?