सरकार र गैर सरकारी संस्था मिलेर अघि बढ्नुपर्नेमा जोड

लोकपथ
65
Shares

काठमाडौं । समाज विकासका विभिन्न क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्थाहरुले दीगो विकास र आवधिक लक्ष्य प्राप्तिको लागि सरकार र गैर सरकारी संघसंस्थाबीच समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

दीगो विकासको लक्ष्य प्राप्तिका लागि क्षेत्रगत रुपमा समस्या पहिचान गरी आवश्यकताका आधारमा परियोजना स्वीकृत गर्दा सम्मुन्नत विकासको लक्ष्य प्राप्त गर्न सकिने तर्क उनीहरुले गरेका हुन् ।

४३ औं सामाजिक सेवा दिवसको अवसरमा सञ्चालित विकास प्रदर्शनीमा सहभागि सामाजिक संघ संस्थाका प्रतिनिधिले परियोजना छनोट लगायतमा यथेष्ट अध्ययन नपुग्दा र एकै क्षेत्रमा कार्यक्रमको डुब्लिकेसन हुँदा आवश्यक क्षेत्रमा परियोजना पुग्न नसकेको बताए । सरकारले प्रविधिमैत्री वातावरण सिर्जना गर्न नसक्दा काम तथा कारबाहीमा ढिलासुस्ती हुने गरेको गुनासो समेत गरे ।

उनीहरुले प्रविधिमैत्री प्रणालीको विकास गर्नसके संस्थागत परियोजना स्वीकृतलगायतका प्रक्रियागत कार्य सम्पादनमा सहज हुने धारणा राखेका छन् । गैर सरकारी संस्था प्लान इन्टरनेशनलका सञ्चार प्रवन्धक श्रीराम केसीले सूचना र डिजिटलाइजेशन प्रक्रियाबाट संघसंस्थाहरुलाई नियमन गर्ने प्रक्रिया अघि बढाउन सके काम गर्न सहज हुने बताए ।

प्रदेश २ र लुम्बिनी प्रदेशमा इस्लामिक रिलिफ नेपालले जलवायु परिवर्तन, जीविकोपार्जन, खानेपानी, विपद् जोखिम न्यूनीकरण र संरक्षणका कामहरु गर्दै आइरहेको कार्यक्रमकी सल्लाहकार लक्ष्मी जोशीले बताइन् ।

उनले दीगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रले लिएका नीतिहरुको राष्ट्रिय स्तरमा अध्ययन गरेर र प्राथमिकताका आधारमा क्षेत्रगत योजना छनोट गरी काम गर्नसके गैर संघसंस्थाले गर्ने काम लक्षित वर्गमा पुग्ने विश्वास व्यक्त गरिन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल (एआइएन) की अध्यक्ष काजल प्रधानले नीति नियम बनाउँदा सम्बन्धित क्षेत्रमा काम गरेका संस्थाका प्रतिनिधिलाई पनि सहभागि बनाउन सके गैर सरकारी संस्थाले समाज विकासमा गरेको लगानीको प्रभावकारी प्रतिफल प्राप्त हुने बताइन् । उनले विकासको सवालमा सरकार र गैर सरकारी संस्था मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

वातावरण संरक्षण, फ्रेस वाटर, जलवायु परिवर्तन र वन्यजन्तुमैत्री पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेको डब्ल्यूडब्ल्यूएफ नेपालका क्षेत्रीय सञ्चार व्यवस्थापक आभाष कर्माचार्यले गैर सरकारी संस्थालाई नेपालमा अवसर र चुनौती दुवै रहेको बताए ।

उनले नेपालमा क्षमता वृद्धिका लागि धेरै काम गर्न आवश्यक रहेको र हरेक क्षेत्रमा लैङ्गिक समानता बनाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । त्यस्तै, वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यक्रम परिचालन निर्देशक अनुप राणाले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग गर्ने काममा संस्था अघि बढिरहेको बताए । उनले वल्र्ड भिजन इन्टरनेशनल नेपालले विशेष गरेर बालबालिकाको हीतका लागि काम गरिरहेको बताए ।

शान्ति सेवा गृहका प्रवन्ध निर्देशक अप्सरा कार्कीले शारीरिक अशक्तता भएका नागरिकहरुले गरेको कामलाई सरकारले व्यवस्थित बनाउन नसकेको गुनासो गरिन् । उनले शान्ति सेवा गृहले कुष्ठ प्रभावितको लागि काम गरिरहेको उल्लेख गर्दै अहिले शान्ति सेवा गृहमा १४ सय जना कुष्ठरोगका बिरामी र उनीहरुका परिवारलाई शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सहयोग गरिरहेको बताए ।

प्रवन्ध निर्देशक कार्कीले कुष्ठरोगीहरुद्वारा उत्पादित सामग्रीहरुको बजार अभाव भएको बताए । उनले उनीहरुले निर्माण गरेको सामग्रीहरुलाई वर्षभर नै बजारसँग जोड्ने ठाउँको सहजीकरण गर्न पहल गर्नुपर्ने बताए ।

उनले कुष्ठ प्रभावित र शारीरिक अशक्तता भएकाहरुलाई राज्य स्तरबाट हेर्नुपर्ने ठाउँ धेरै रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?