हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

लोकपथ
143
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित पार्टीनिकट किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गत सालदेखि प्रतिगमनको नयाँ–नयाँ रूप आएको बताए । उनले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको बताउँदै परिवर्तन पक्षधर र विरोधीबीच अहिले पनि पेचिलो संघर्ष चलिरहेको बताए ।

प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारी कदमले त्यो देखाएको दाबी गरे । प्रतिनिधिसभा विघटन प्रकरणमा प्रतिगमनको विरोध गर्दै किसान र श्रमिक सडकमा उत्रिएपछि परास्त भएको भन्दै राष्ट्रपतिको कदमविरूद्ध पनि सडकमा उत्रिनुपर्ने उनको भनाइ छ ।

प्रचण्डले भने ‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ । संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन ।

हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो । यसलाई रोक्न अरु कसैले सक्दैन । गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त ग¥यौं । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’

प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर लागिरहेको दाबी गरे । उनले ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?