जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा अस्वीकार गरेको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बिहीवार भर्चुअल मार्फत बसेको जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको जनाएको छ ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलवार प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । जसपाले मधेशमा शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गरिने बताएको छ । जसपाले बुधवार र बिहीवार पनि मधेशका ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको थियो ।
असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाज लगायतसँग अन्तर्क्रिया गरिने जसपाले जनाएको छ । जसपा मधेश समितिका सचिव दिनेश यादवका अनुसार असोज ११ मा भ्रातृ संगठनले राष्ट्रपतिविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिको पुत्ला दहन गर्ने पनि उनले बताए । असोज १३ गते पालिका तहमा अन्तर्क्रिया गरिने उनले बताएका छन् । यस्तै, असोज १५, १६ र १७ मा पालिका र वडा तहमा राष्ट्रपतिको कदमविरूद्ध अन्तर्क्रिया गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया