भारतको अनुदानमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बन्दै, आज भूमि पूजा गरियो

लोकपथ
195
Shares

काठमाडाैँ । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमी पूजा गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले आज(शुक्रबार) संयुक्त रुपमा भूमि पूजा सम्पन्न गरेका हुन् ।

यस परियोजनाको सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा शिलान्यास गरिएको थियो । त्यतिबेला नेपालका तत्कालीन प्रधानमन्त्री स्व.सुशिल कोइराला र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त शिलान्यास गरेका थिए ।

भारत सरकारको १० अर्ब अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो । यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘æIndia@75 आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको बताइएको छ ।

उक्त परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १ दशमलव १० लाख वर्गमिटर क्षेत्रफलको हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ । दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुने जनाइएको छ । आधुनिक सेवा सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने विश्वास लिइएको छ ।

भूमी पूजन कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । साथै उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए ।

यसैगरी, परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारीअन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।

नेपाल र भारतबीच बहुआयामिक तथा बहुपक्षीय विकास साझेदारी रहेको छ । जसले दुई देशका जनताबीच रहेको निकटतालाई दर्शाउँछ । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको प्रयासमा भारत सरकारको सदैव सहयोग रहने कुरालाई प्रतिबिम्बित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?