नेपालको प्राथमिकता कनेक्टिभिटी निर्माण गर्नु हो : परराष्ट्र सचिव पौड्याल

लोकपथ
39
Shares

काठमाडौं । परराष्ट्रसचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्टै आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश (एलएलडीसी) र अतिकम विकसित देश (एलडीसी) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीवार सम्बोधन गरेका छन् ।

एलएलडीसी मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिव पौड्यालले महामारी, जलवायु संकट र प्राकृतिक प्रकोपका कारण व्यापार, यातायात र कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा नेपालको धारणा राखेका थिए ।

उनले डिजिटल कनेक्टिभिटी, पूर्वाधारको विस्तार र एलएलडीसीहरूको लागि विश्वव्यापी सहयोग सुदृढीकरणको आवश्यकता रहेको औंल्याएका थिए । भियना कार्यक्रमको कार्यन्वयनलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका थिए ।

‘नेपालले सन् २०२६ सम्ममा एलडीसीबाट स्तरोन्नती हुँदै गर्दा नेपालको प्राथमिकता पूर्वाधारको माध्यमबाट बलियो कनेक्टिभिटी निर्माण गर्नु हो । यसका लागि ट्रान्जिट देशहरू र हाम्रा विकास साझेदारहरूबाट हामी अझ ठूलो सहयोगको अपेक्षा गर्छौं,’ परराष्ट्र सचिव पौड्यालले भने ।

एलडीसको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले असमानता, आपतकालीन जलवायु र कोभिड महामारी जस्ता चुनौतीहरू अतिकम विकसित देशहरूले सामना गर्नुपरेको बताए ।

उनले एलडीसी राष्ट्रहरुले चार दशकीय कार्ययोजना कार्यान्वयन गरेपछि पनि अविकसित र गरिबीको चपेटामा परिरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

दोहा कार्ययोजनाले अनुमोदन गरेअनुसार उत्पादनशील क्षमता निर्माण, लगानी र व्यापार प्रवर्द्धन, गरिबी न्यूनीकरण र समस्या समाधानका लागि संस्थाहरूलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?