काठमाडौं । असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अघि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले आज मिति घोषणा गरेको हो ।
चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको बताइएको छ ।
चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेको यात्रुलाई सहजता प्रदान गर्नु रहेको पठाओले जनाएको छ । करिब सबै तयारीहरू पुरा भइसकेको र पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गर्नेमा पठाओ विश्वस्त छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।
चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् । थप जानकारीका लागि भने पठाओको केन्द्रीय कार्यालयको सम्पर्क नम्बर ०१–५९७००९९ मा कल गर्न पनि सकिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया