उपराष्ट्रपतिसँग जर्मनीका राजदूतको शिष्टाचार भेट

लोकपथ
39
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत डाक्टर थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् । बिहीवार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र जर्मनीबीचको छ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताए । उनले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउँदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए ।

भेटमा उपराष्ट्रपतिले नेपालले संक्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोशिस गरिरहेको बताए । उनले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुने बताए । उपराष्ट्रपतिले नेपालको प्राथमिकता लोकतन्त्रलाई अझै सुदृढ गर्ने र देशलाई समृद्ध बनाउने रहेको बताए ।

उनले लोकतन्त्रको सुदृढको महत्वपूर्ण पक्षको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जर्मन सरकारबाट सहयोग रहने अपेक्षा पनि व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जर्मनीका राजदूत डाक्टर थोमस प्रिन्जले नेपाल जर्मनको नजिकको मित्र भएको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिए । भेटमा राजदूत प्रिन्जले नेपालको संक्रमणकालीन न्यायका काम छिटो सम्पन्न गर्न आग्रह गरे ।

उनले नेपालको मौलिकतामा संक्रमणकालीन न्यायका काम सम्पन्न गर्न आग्रह समेत गरे । उनले आगामी निर्वाचनपछि नेपालको संक्रमणकालीन न्यायको काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?