राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्यो : ओली

लोकपथ
130
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए ।

‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै) उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’ ओलीले भने ।

गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु आफ्नो महानता ठानेको भन्दै ओलीले भने, ‘गठबन्धनले आफ्नो महानता के ठानेको छ भने अपमान गर्नु । राष्ट्रपतिको अपमान आफ्नो महानता ठानेको छ ।’

एक वर्षअघि नै संसदमा आफूले संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जानुपर्ने बताएको भन्दै उनले त्यतिखेर नै सरकारले संविधानको पालना गर्नुपर्ने सुझाव दिएको बताए । सरकारले विधेयक पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गरी स्वीकृत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै ओलीले तर, गठबन्धनले संविधानको धारा १८१ एकपटक पालना नगरेको आरोप लगाए ।

बदनियतका साथ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका ओलीले ६ महिनासम्म प्रस्तावलाई अगाडि नबढाएर दराजमा थन्क्याएर राखेको टिप्पणी गरे । ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषय ६ महिनासम्म चुपचाप राखिन्छ ?,’ ओलीले प्रश्न गर्दै भने, ‘१ फागुनमा दर्ता भएको महाअभियोग प्रस्ताव १ भदौसम्म बाहिर निकालिएन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?