संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति पुन

लोकपथ
0
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति पुन असन्तुष्ट बनेका हुन् । उनले बुधवार एक विज्ञप्तिमार्फत संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको स्पष्ट गरेका हुन् ।

संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको उनको भनाइ छ । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ ।

पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’ उपराष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह समेत गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर दोस्रो पटक पठाइएको नागरिकता विधेयक मंगलबारसम्ममा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने भएपनि गरेकी थिइनन् ।

राष्ट्रपतिले संविधानअनुसार आफूले गर्नुपर्ने कार्य नगरेर संविधानको उलंघन गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?