प्रकृति र संस्कृति नै मुलुकलाई सम्बृद्ध बनाउने आधारः उपराष्ट्रपति पुन

काठमाडौं, ३१ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रकृति र संस्कृतिको भरपूर सदुपयोग गर्दै मुलुकलाई सम्बृद्ध बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । पर्यटन, कृषि, उर्जा र जडिबुटी सम्बृद्धिका खम्बा भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तत्कालिन र दीर्घकालिन गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।मंगलबार होटल मनाङमा सम्पन्न गन्तव्यन्युज डट कमको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको सबै गाउँहरु पर्यटकीय हिसाबले महतत्वपूर्ण रहेकोले त्यसलाई पर्यटकीय प्रडक्टको रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो । राजनीतिक अस्थिरताका कारण सम्भावनाहरुको पहिचान र प्रवद्र्धन हुन नसकेको दृष्टान्त प्रस्तुत गर्दै त्यसलाई चिरेर नयाँ गन्तव्यहरुको पहिचान तथा प्रवद्र्धनमा ध्यानकेन्द्रित गर्न जरुरी रहेको बताउनुभयो ।‘संविधान कार्यान्वयनको शिलशिलामा स्थानीय तहको निर्वाचन सम्पन्न भई मुलुक संघ र प्रदेशको निर्वाचनतर्फ केन्द्रित भइरहेको छ’ उपराष्ट्रपति पुनले भन्नुभयो –‘योसँगै अब हामी स्थायित्वतर्फ अघि बढेका छौं । सकारात्मक सोचका साथ सम्बृद्धिका निम्ति सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।’सो अवसरमा टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेलाई सम्मानित गरिएको थियो । सम्मान ग्रहण गर्दै पाण्डेले मुलुकको पर्यटन प्रवद्र्धनमा सिर्जनात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । नेपाललाई सम्बृद्ध बनाउने माध्याम पर्यटन उद्योग भएको भन्दै यसको बृद्धि विकासमा राज्यस्तरबाट थप नयाँ योजना तथा कार्यक्रम ल्याउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।पूर्व सांसद जगदिशनरसिंह केसीले नयाँ गन्तव्यहरुको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औल्याउँदै त्यसका निम्ति सरकार र निजी क्षेत्रबीच साझेदारी रहनुपर्नेमा जोड दिनुभयो ।नेपाल पर्यटन व्यवसायी संगठनका राष्ट्रिय संयोजक नवराज दाहालले नेपाल घुम्ने पर्यटकको संख्यात्मक र गुणात्मक बृद्धि समय सापेक्ष हुन नसकेको भन्दै त्यसलाई पूर्ति गर्नका निम्ति राज्यस्तरबाट पहल गरिनुपर्ने बताउनुभयो ।गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले गन्तव्य नेपालले विगत डेढ दशकदेखि पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै पर्यटन विकासका लागि केन्द्रीय स्तरबाट निश्चित लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।सोही समारोहबीच पर्यटन व्यवसायी लोक प्रसाद दाहाल, अनिल लामा, चिरञ्जिवी भट्ट, राजेन्द्र अधिकारी, गिता गुरुङ, अन्नेली सोफिया राइकर तथा समाजसेवी रामहरी अधिकारी, राजन थापा र मोतिराम ढकाललाई पनि सम्मानित गरिएको थियो ।त्यस्तै उत्कृष्ठ पर्यटन पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका राजु सिलवाल, न्युज २४ टेलिभिजनका संगम बानियाँ, शिखरपोष्ट मिडियाका प्रकाश खालिङ, पोइन्ट मिडियाका नविन काफ्ले र फोटोपत्रकार जनार्दन अर्याललाई पनि सम्मानित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?