कानुनविद्हरुलाई छलफलका लागि बालुवाटार बोलाइयो

लोकपथ
143
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्लाई छलफलका लागि बोलाएको छ ।

यसअघि आज नै सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको थियो ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि असंवैधानिक भएको ठहर गर्दै संयुक्त विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गरेको थियो ।

तर, सत्ता गठबन्धनभित्रकै दल राष्ट्रिय जनमोर्चाले भने विज्ञप्तिमा हस्ताक्षर गरेको छैन । कानुनविद्हरुको रायका आधारमा गठबन्धनले थप धारणा बनाउने बताइएको छ । त्यसका लागि कानुनविद्हरुसँग छलफल गर्न अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।

नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको मान्ने वा राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने विषयमा कानुनविद्को राय लिन लागिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?