ब्याडमिन्टन प्रतियोगितामा एलिस र सविन प्रथम

लोकपथ
39
Shares

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डबल ब्याडमिन्टन प्रतियोगितामा दोर्पा स्पोर्टस् क्लबका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेका छन् । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको मंगलवार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो ।

बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगितामा सोल्मा स्पोर्टस् क्लबका प्रकाश राई र पवन राईको जोडी दोस्रो तथा ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रवीण मुग्रातीको जोडीले तेस्रो स्थान प्राप्त गरेका हुन् ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, दोस्रो स्थान प्राप्त गर्ने टिमले ३५ हजार र तेस्रो स्थान प्राप्त गर्ने टिमले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एवम् गाउँपालिकाका सूचना प्रविधि अधिकृत संगम खतिवडाले बताए । विजेता टिमलाई गाउँपालिका अध्यक्ष समीर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

संविधान दिवसको अवसरमा गाउँपालिकाले अफिस ब्याडमिन्टन कभर्डहल उद्घाटनका साथमा खुला र डबल ब्याडमिन्टन प्रतियोगितामा आयोजना गरेको हो । प्रतियोगितामा २५ टिमको प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?