नागरिकता विधेयक : के हुँदैछ शीतलनिवासमा ?

लोकपथ
91
Shares

काठमाडौं । दोस्रो पटक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको नारिकतासम्बन्धी विधेयकबारे के होला भन्ने चर्चा चौतर्फी रुपमा देखिन्छ ।

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयक प्रमाणीकरणको लागि १५ दिनको समयसीमा आजबाट सकिएको छ । तर राष्ट्रपति कार्यालयबाट कुनै पनि संकेत नआएपछि विभिन्न संशयहरु पैदा भइहरेको छ । तर राष्ट्रपति कार्यालयले भने त्यसबारेमा राष्ट्रपतिले आवश्यक परामर्श गरिरहेको शीतलनिवास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सरकार, राजनीतिक दल र कानुनी रुपमा परामर्श गरिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।
तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट छिन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक १४ दिन बितिसक्दा पनि प्रमाणीकरण नगरेपछि सोमवार प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच डेढ घन्टा लामो छलफल भए पनि विधेयक प्रमाणीकरण हुने कि नहुने भन्ने निश्चित नभएको बालुवाटार स्रोतले बतायो ।

‘राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु हुन्छ भन्नेमा प्रधानमन्त्रीज्यू त्यति विश्वस्त देखिनुभएको छैन,’ कांग्रेसको उच्च स्रोतले भन्यो । सत्तारुढ गठबन्धनको शीर्ष नेताको मंगलवार बस्ने बैठकमा नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिइसकेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अब आउने नयाँ राष्ट्रपतिले पनि पहिलेकै थिति बसाल्ने र त्यसले कार्यपालिका र शीतल निवासबीच द्वन्द्व सुरु हुने बताएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका नेताहरू भने नागरिकता विधेयकबारे खुलेर बोलेका छैनन् । तर, एमालेले भने नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने धारणा राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?