काठमाडौं । चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका हुन् ।
संघले ‘महामारीपछिको चुनौती, उपलब्धी र अवसर’ विषयमा केन्द्रीत रहेर सम्मेलनको आयोजना गरेको हो । बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन मंगलवार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ ।
सम्मेलनको पहिलो दिन संघको ‘पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी’, ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’ र ‘चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा’ विषयमा छलफल भएको छ ।
यस्तै बुधवार, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु’, ‘खोप, औषधी र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण’, ‘नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना’ र ‘चिकित्सा शिक्षामा असर र अवसर’ विषयमा छलफल हुनेछ ।
स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्वपूर्ण हुने बताए । ‘सम्मेलनमा छलफलपछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयलये नीति तथा कार्यक्रमहरु बनाउन सक्नेछ,’ उनले भने, ‘यो सम्मेलनमा स्वास्थ्य र चिकित्सा शिक्षाका विषयमा गहन छलफल हुने र ती छलफलबाट विशेषगरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जनशक्ति र समग्र स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण सुझाव आउनेछ भन्ने विश्वास लिएको छ ।’
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य भइनसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । उनले कोभिड महामारीसँगै आगामी दिनमा आउनसक्के जोखिम तथा समस्याको समाधानका लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए ।
संघका अध्यक्ष डाक्टर लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पु¥याउन सम्मेलनको आयोजना गरिएको जानकारी दिए । ‘आगामी दिनमा स्वास्थ्यको नीति के हुनुपर्ने, पाँच वर्ष, १० वर्षमा स्वास्थ्य क्षेत्रमा के काम हुनुपर्छ र के कुरामा जोड दिनुपर्छ भन्ने विषयमा हामी गहन छलफल गर्नेछौं,’ उनले भने, ‘उक्त छलफलमा आएका कुराहरुलाई हामीले संकलन गरेर नीतिगत सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिनेछौं ।’
उनले समग्र नेपालको स्वास्थ्य प्रणालीलाई विश्वसामू प्रतिस्पर्धात्मक रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा ठोस रणनीतिमूलक कार्ययोजना तर्जुमा गर्न सहजीकरण होस् भनेर सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
सम्मेलन आयोजक समितिका अध्यक्ष डाक्टर अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो विषयहरु सम्मेलनमा छलफलका लागि छनोट गरिएको बताए । ‘यस्ता महत्वपूर्ण बिषयवस्तुमाथी गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने रणनीतिक योजना र नीतिलाई मार्ग निर्देश गर्न सहजीकरणको भूमिका खेल्ने मैले अपेक्षा गरेको छु,’ उनले भने ।
दोस्रो सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको छ । जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए ।
दोस्रो सम्मेलनका लागि चिकित्सक संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा आयोजक समिति गठन गरिएको थियो । उक्त समितिमा संघका अध्यक्ष डाक्टर लोचन कार्की, महासचिव डाक्टर बद्री रिजाल, डाक्टर एन्जल मगर र डाक्टर चन्दा कार्की छन् । डाक्टर चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष छन् । डाक्टर कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डाक्टर सन्ध्या चापागाईं, डाक्टर अनुपमा कार्की, डाक्टर अनुपमा सुवाल, डाक्टर कृष्ण अग्रवाल, डाक्टर सरोजा कार्की पाण्डे, डाक्टर सुमनराज ताम्राकार, डाक्टर पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डाक्टर सुजित भुषाल र डाक्टर अलिस्का निरौला रहेका छन् ।
सम्मेलनको सल्लाहकार समितिमा डाक्टर रमेशकान्त अधिकारी, डाक्टर केदारनरसिंह केसी, डाक्टर किरण रेग्मी, डाक्टर कुसुम थापा र डाक्टर मिता सिंह छन् ।
संघले यसअघि गत वर्ष असोजमा गरेको पहिलो राष्ट्रिय सम्मेलन कोभिड महामारीका कारण भर्चुअल भएको थियो । गत वर्षको सम्मेलनमा विभिन्न १२ बुँदे घोषणा सार्वजनिक भएको थियो । पहिलो सम्मेलनमा संघीयातामा माहामारीको पुर्वतयारी र व्यवस्थापनको अवस्था, महामारीमा जनशक्ति तथा सेवा प्रवाहको अवस्था, कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारको रणनीति, महामारीमा बहुक्षेत्रीय प्रतिक्रिया अवसर, चुनौती र महामारीबाट सिक्नुपर्ने पाठ, महामारीको पूर्वतयारीमा आउने नयाँ अवसरलगायत मुख्य ५ विषयवस्तुमा आधारित रहेर छलफल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया