जबरा सर्वोच्च फर्कने चर्चा भएसँगै फेरि सुरक्षा व्यवस्था कडा

लोकपथ
247
Shares

काठमाडौं । गएको आइतवार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासी कानुन व्यवसायी जम्मा भए । वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो ।

अघिल्लो दिन राति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत फर्कने तयारीमा रहेको भन्दै रजिस्ट्रारलाई फोन गरेपछि सोमवार बिहानैदेखि अदालत परिसरमा तनावको स्थिति उत्पन्न भयो ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार इकाइले जबरा सर्वोच्च आए भित्र पस्न अवरोध गर्ने चेतावनी दिए । बारले त यसअघि नै जबरालाई सर्वोच्चमा अवरोध गर्ने निर्णय नै गरिसकेको छ । जबराले आफू ११ बजे सर्वोच्च आउने डेडलाइन नै मिडियालाई बताएपछि सुरक्षा व्यवस्था कडा बनाइयो ।

प्रतिनिधिसभाको कार्यकाल सकिएलगत्तै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय भएको र आफूले सफाइ पाएको उनको जिकिर थियो । तर पाँचदलीय गठबन्धनले भने जबरामाथि लागेको महाअभियोग नयाँ संसद्लाई कार्यभार दिने सिफारिस गरेपछि उनले संसदबाट निलम्बन फुकुवा पाउन सकेका छैनन् ।

त्यसैले सरकारले जबरा निवासमा सुरक्षा व्यवस्था कडा बनाएको थियो । जबराले आफू निवासमै नजरबन्दमा रहेको बताएपछि राजनीतिमा फेरि सनसनी फैलियो । उनको विषयमा नेपाली समाज नै दुई भागमा विभाजन भयो । तर, त्यस दिन जबरा सर्वोच्च फर्केनन् ।

सोमबार संविधान दिवस भएकाले सार्वजनिक बिदा थियो । तर, मंगलबार कार्यालय समय खुलेसँगै जबरा फेरि सर्वोच्च फर्कने चर्चा सुरु भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

वीर गोर्खाली अभियान, एमाले निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन कडा पारिएको हो । जबकि सरकारले जबरालाई दिएको सुरक्षाकर्मी सबै फिर्ता बोलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?