डोटीमा कांग्रेसले गठबन्धन नगर्ने संकेत देखाएपछि तर्सिए आले

लोकपथ
169
Shares

काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताए ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु नहुने बताए । उनले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने बताए । नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरुले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताए ।

गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उनको भनाई छ । उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए । उनले भने– ‘मेरो जिल्लामा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरु गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन । ७७ जिल्लामै गठबन्धन हुनु भएन । यदी गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले हिजो संसदीय दलको बैठकमा पनि पार्टी अध्यक्षज्यूलाई जानकारी दिएको छु । आज समाजवादी भर्खरै बिद्रोहबाट जन्मिएको पार्टी, जनताको बीचमा नपुगेको पार्टी, स्थानीय तहको निर्वाचनमा कलम चिन्हको राम्रो प्रचार–प्रसार नभएको पार्टी, डोटीमा ९ वटा स्थानीय तहमा हाम्रो एकीकृत समाजवादीले जम्मा १० वटा वडामा मात्रै हाम्रो उम्मेदवारी भयो । ५५ वटा वडामा हामीले त्यत्तिकै छोडिदियौँ । त्यही १० वडाको भोट गनेर नेपाली काँग्रेसले समाजवादीको त ३ हजार भोट छ, समाजवादीको ३५ सय भोट छ भन्यो । भोटको कुरा हुन्छ ? स्थानीय निर्वाचन हुनुभन्दा अगाडी काठमाडौंको मेयर बालेनको मत कति थियो ? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो । उहाँको मत कति थियो ? उहाँको कुनै मत नै थिएन । त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले बिद्रोहको प्रयास गरिराखेका छन् । यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ ।’

उनले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताए । नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताए ।

उनले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?