अब चितवनमा पनि ‘पठाओ’

लोकपथ
91
Shares

काठमाडौं । लोकप्रिय राइड सेयरिङ प्लेटफम पठाओले आफ्नो सेवा अब चितवनमा पनि विस्तार गर्ने भएको छ ।

करिब ४ वर्षदेखि नेपालमा सञ्चालित पठाओले काठमाडौं उपत्यकामा मात्र केन्द्रित हुँदै सेवा सञ्चालित गर्दै आएकोमा अब छिट्टै चितवनमा सेवा विस्तार गर्ने भएको हो । कम्पनीले चितवनमा समेत आफ्नो राइड सेयरिङ सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

पहिलो चरणमा चितवनमा अटो र बाइकबाट राइड सेवा सुरु गरिने कम्पनीले जानकारी दिएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लेटफममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताइन् ।

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनले भनिन्, पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने समेत कम्पनीले जनाएको छ ।

सुरक्षित र भरपर्दो यात्राका लागि निकै जोडबल गरिरहेको कम्पनीले पठाओ सेवामा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प समेत प्रदान गरिरहेको छ ।

थप हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा समेत प्रदा नगरिएको हमालले बताइन् । बिमा अन्तर्गत हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुविधा कम्पनीले उपलब्ध गराएको छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?